
विराटनगर। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ। आज सार्वजनिक सूचनामार्फत क्यानले इच्छुक तथा योग्य व्यावसायिक संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
जर्सी प्रायोजनको न्यूनतम वार्षिक मूल्य ६० लाख रुपैयाँ तोकिएको छ। प्रायोजनको अवधि तीन वर्षको रहनेछ भने त्यसपछि वृद्धिका लागि आपसी सहमतिमा निर्णय गरिने क्यानले जनाएको छ। प्रायोजकको ब्रान्ड लोगो महिला टोलीको जर्सीको अगाडिपट्टि राखिनेछ।
आवेदन पेस गर्ने अन्तिम मिति अगस्ट ३० बिहान ११ बजेसम्म निर्धारण गरिएको छ। आवेदकले ३० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। साथै, आवेदन दिन कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनी प्रोफाइल र विगतका प्रायोजन अनुभव (यदि भएमा) पेश गर्नुपर्ने क्यानले स्पष्ट पारेको छ।