
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–ट्वान्टी सिरिज सकिएलगत्तै अर्को पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरूप नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म क्रिकेट एसीटी र साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
कार्यक्रमअनुसार नेपालले भदौ १० गते एसीटीसँग पहिलो खेल खेल्दै सिरिजको सुरुवात गर्नेछ। यसअघि नेपाली टोली टप एन्ड टी–ट्वान्टी सिरिजका लागि अस्ट्रेलियामै रहेको छ र सो सिरिजअन्तर्गत भोलि (शुक्रबार) नर्थन ट्रेटोरीसँग पहिलो खेल खेल्ने तयारीमा छ।