ऐतिहासिक शृंखला खेल्न नेपाली टोली उत्साहित

विराटनगर । यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिज हुँदैछ । सिरिजमा सहभागी हुने नेपाली टोलीको बिहीबार बिदाइ गरिएको छ ।

नेपाली क्रिकेटका लागि ऐतिहासिक रहेको यस शृंखलामा खेल्न नेपाली टोली निकै उत्साहित देखिएको छ । यस शृंखला नेपालले हालसम्म खेलेका द्विपक्षीय शृंखलाहरूभन्दा फरक हुनेछ ।

नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेलेको छैन । त्यस हिसाबले पनि वेस्ट इन्डिजसँगको यस शृंखला ऐतिहासिक रहेको छ । त्यसमाथि पनि वेस्ट इन्डिजजस्तो दुई पटकको विश्व च्याम्पियन टोलीसँग खेल्न लागेकाले खेलाडीहरू उत्साहित देखिएका छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तयारी धेरै राम्रो भएको बताउँदै शृंखला खेल्न उत्साहित रहेको बताए ।

‘एकदम राम्रो तयारी हुनेछ विश्वकप छनोटका लागि, अस्ट्रेलियामा पनि राम्रो खेलहरू खेलेर आएका छौं । तयारी एकदम राम्रो छ । यो शृंखला खेल्नका लागि एकदमै उत्साहित छौं’ कप्तान रोहितले भने ।

उनले वेस्ट इन्डिजसँग खेल्न टिमभित्र सबैमा कन्फिडेन्स रहेको उल्लेख गरे । ‘हामी एकदम कन्फिडेन्ट छौं, पछिल्लो समय हामीसँग पनि विभिन्न प्रतियोगिता खेलेको अनुभव छ, मोटिभेसन पनि छ, हामी वेस्ट इन्डिजलाई हराउँछौं।’

त्यस्तै नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले ऐतिहासिक अवसर प्राप्त भएको उल्लेख गरे । ‘हामी ऐतिहासिक क्षणमा छौं । हाम्रो लागि राम्रो अवसर पनि छ । विश्वकप छनोटमा जानुभन्दा अगाडि तयारीको मौका छ’ मल्लले भने, ‘एउटा राम्रो टिमलाई हराउने मौका पनि छ हामीसँग । यूएईमा राम्रो तयारी गरेर विश्वकपमा पनि छनोट हुन सक्छौं भन्ने विश्वास छ ।’

यस सिरिजका लागि नेपालको टोली घोषणा हुँदा दुई खेलाडीले राष्ट्रिय टोलीमा फेरि पुनरागमन गरे । मोहम्मद आदिल आलम र सन्दीप जोराले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

आदिल सन् २०२२ पछि पहिलोपटक नेपाली टोलीमा परेका हुन् भने सन्दीप गत वर्ष भएको टी-२० विश्वकप खेलेपछि पहिलोपटक टिममा परे ।

उनीहरू टिममा आउनुको कारण पनि उनीहरूको हालैको प्रदर्शन पनि हो । नेपाल ‘ए’ बाट आसामविरुद्ध खेल्दा दुवैको प्रदर्शन शानदार रह्यो ।

आदिलले उक्त सिरिजमा फिनिसिङको भूमिकासँगै पार्ट टाइम बलिङको पनि योगदान दिए । जोराले विस्फोटक ब्याटिङ गर्दै दुई खेलमा म्याच विनिङ अर्धशतक नै बनाए ।

टोलीमा फर्किन पाउँदा खुसी लागेको बताउँदै आदिलले अब अझै राम्रो गर्नुपर्ने कुरामा जोड दिएका छन् । ‘दोस्रोपटक नेशनल टिममा परेको छु, धेरै खुसी लागेको छ, अब राम्रो प्रदर्शन गर्नुपर्छ’ आदिलले भने ।

वेस्ट इन्डिजसँग खेलेर धेरै सिक्ने अवसर मिल्ने आदिलले बताए । ‘खेलमा राम्रो कम्पिटिसन पनि हुन्छ जस्तो लाग्छ, वेस्ट इन्डिजजस्तो च्याम्पियन टोलीसँग खेल्नु भनेको सिक्ने अवसर पनि हो’ उनले अगाडि भने, ‘त्यसपछि हामी विश्वकपमा पनि जान्छौं भन्नेमा ढुक्क छु।’

आदिलले वेस्ट इन्डिजका बलरलाई छक्का प्रहार गर्न कोसिस गर्ने उल्लेख गरे । ‘छक्का त हान्नेपर्छ, अरु कुनै विकल्प नै छैन, म राम्रो खेल्नेछु त्यस्तो अरु व्यक्तिगत इच्छा केही छैन धेरै’ आदिलले भने ।

त्यस्तै जोराले पनि राष्ट्रिय टिममा फर्कन पाउँदा खुसी लागेको बताए । ‘धेरै खुसी लाग्छ राष्ट्रिय टिममा फर्कन पाउँदा, अहिले अब तयारी पनि राम्रो भइरहेको छ, वेस्ट इन्डिजसँग पनि राम्रो खेल्नेछौं’ उनले भने ।

उनले वेस्ट इन्डिजसँग खेल्ने कुरालाई अवसरको रूपमा लिएको बताए । ‘यस्तो अवसर पटक पटक आउँदैन, मैले यसलाई अवसरकै रूपमा हेरेको छु, आत्मविश्वास पनि बढेको छ’ जोराले थपे ।

कप्तान रोहितले पनि आदिल र जोराको आगमनले टिम धेरै सन्तुलित र बलियो भएको बताए । ‘जोराले आसामसँग गरेको प्रदर्शनले हामीला मिडल अर्डरमा बलियो बनाएको छ, आदिल पनि फिनिसिङको विकल्प हुनसक्ने गरी टिमलाई सन्तुलित बनाएको छ’ रोहितले बताए ।

अस्ट्रेलियामा टप एन्ड टी-२० सिरिज खेलेर नेपाली टोली दुई साताअघि स्वदेश फर्किएको थियो । यस सिरिजबाट प्राप्त एक्पोजर लिएर नेपाली टोली अब वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्न जाँदै छ ।

वेस्ट इन्डिजसँगको सिरिजपछि नेपालले आईसीसी टी-२० विश्वकप छनोटको रिजनल फाइनल खेल्ने भएकाले उक्त छनोटका लागि नेपालको यो अन्तिम तयारी हुनेछ ।

कप्तान रोहितले वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गरेर सोही कन्फिडेन्स विश्वकप छनोटमा लाने बताए । ‘वेस्ट इन्डिजसँग राम्रो खेलेर सोही लय कायम गर्‍यौं भने त हामी विश्वकपमा छनोट हुन्छौं नै’ उनले भने ।

नेपाली टोलीले विश्वकप छनोटकै लागि भनेर लामो समयदेखि तयारी गरिरहेको थियो । यसको सुरुवात अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलालाई लिन सकिन्छ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा लिग २ को सिरिज खेल्ने क्रममा टी-२०आई शृंखला पनि खेलेको थियो । त्यसभन्दा अगाडि बेलायतमा गएर १५ दिनको अभ्यास क्याम्पम पनि सहभागी भयो ।

त्यसपछि नेपालले अस्ट्रेलिया गएर टप एन्ड टी-२० सिरिजमा पनि ऐतिहासिक सहभागिता जनायो । यसरी यूरोपदेखि अस्ट्रेलियासम्मको कन्डिशनमा खेलेर फर्किएको नेपाली टोलीले अब त्यही एक्सपोजरको मद्दतमा वेस्ट इन्डिजलाई चुनौती प्रस्तुत गर्नेछ ।