पीएसजीलाई बोटाफोगोको अप्रत्याशित झट्का, समूह बीको शीर्ष स्थान ब्राजिलियन क्लबलाई

विराटनगर । फिफा क्लब विश्वकप फुटबलको समूह बी अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन क्लब बोटाफोगोसँग १-० ले पराजित भएको छ।

खेलको निर्णायक गोल बोटाफोगोका इगोर जेससले ३६औं मिनेटमा गरे। उनले जेफरसन साभारिनोको पासमा उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाए र सोही गोल नै खेलको अन्तिम नतिजा बन्यो।

पीएसजीले खेलभरि बलमा दबदबा जमाए पनि गोल गर्न सकेन। फ्रेन्च क्लबले ७५ प्रतिशत बल नियन्त्रण गर्दै १४ प्रहार गरे तर दुई मात्र फ्रेममा लागे। बोटाफोगोका गोलकिपर जोनले उत्कृष्ट प्रदर्शन गर्दै क्लिनसिट राखे।

पीएसजीका प्रशिक्षक लुइस एनरिकले प्रमुख खेलाडीहरूलाई विश्राम दिँदै नयाँ अनुहारहरूलाई मौका दिएका थिए। तर, उनको यो निर्णय अहिले आलोचित बन्न थालेको छ। खेलपछि बोटाफोगोका प्रशिक्षक रेनाटो पैवाले भने, “फुटबल पूर्वानुमान गरिएझैं चल्दैन, यहाँ आश्चर्यचकित पार्ने नतिजा सम्भव हुन्छ।”

यस जितसँगै बोटाफोगो समूह बीको शीर्ष स्थानमा पुगेको छ। उसले दुई खेलमा ६ अंक जोडेको छ। पीएसजी र एट्लेटिको मड्रिडले समान ३-३ अंक जोडेका छन्।

अब समूह चरणको अन्तिम खेलमा पीएसजीले सिएटल साउन्डर्सलाई हराउनैपर्नेछ भने एट्लेटिको मड्रिडले बोटाफोगोलाई पराजित गर्नुपर्नेछ।