
विराटनगर ।तीनदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधि स्कटल्यान्डले जितेको छ। शुक्रबार ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा भएको निर्णायक खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै स्कटल्यान्डले उपाधि उचालेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेट गुमाउँदै १ सय ९३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। स्कटल्यान्डका जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गर्दै जितको आधार तयार पारे। ओपनर मुन्सीले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७८ रन बनाए भने म्याकमुलेनले ३० बलमा ४ चौका र १ छक्का सहित ४२ रनको योगदान दिए।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा ललित राजवंशी, रिजन ढकाल र रोहित पौडेलले १–१ विकेट लिए।
१ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमै १ सय ५९ रनमा अलआउट भयो। नेपालको तर्फबाट रुपेश सिंह अविजित ४३ रन बनाए। उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ३४ रन बनाउँदै साथ दिएका थिए।
कप्तान रोहित पौडेलले २० बलमा ४ चौकासहित २७ रनको योगदान दिए भने अन्य ब्याट्सम्यान खास प्रदर्शन गर्न सकेनन्। कुशल भुर्तेल ४, भीम सार्की १२, आसिफ शेख १४, आरिफ शेख र लोकेश बम समान ५, सन्दीप लामिछाने शून्य, रिजन ढकाल ५ तथा ललित राजवंशी १ रनमै पवेलियन फर्किए।
स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। साफ्यान सरिफले २ विकेट झारे।
शृंखला डबल राउन्ड रोबिन प्रणालीमा आयोजना गरिएको थियो जसमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी थिए। समान २–२ खेलमा जित र हार ब्यहोरे पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड शिर्ष स्थानमा रहँदै विजेता घोषित भयो।
नेपालले प्रतियोगितामा पहिलो तीन खेलमध्ये दुई जितेको थियो।