काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले हराएको छ । चितवनले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएकाे पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।
पोखराका एडम रोसिङटनले ६५ र अर्जुन कुमालले अविजित ४३ रन बनाए । चितवनका रिजन ढकाल र सैफ जैबले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए । पोखरा र चितवन यस अघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका छन् ।
योसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
एनपीएल लिग चरणको अन्तिम खेलमा आज दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।