विराटनगरमा ५ करोडको लगानीमा ‘विराट स्पोर्ट्स जोन’  मंसिर २७ गतेदेखि सञ्चालनमा आउने भएका छन्।
  1. विराटनगर
    कोशी प्रदेशको राजधानी विराटनगरमा करिब ३० कठ्ठा क्षेत्रफलमा पाँच करोड रुपैयाँको लगानीमा अत्याधुनिक ‘विराट स्पोर्ट्स जोन’ मंसिर २७ गतेदेखि संचालनमा आउने भएको छ। सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलपूर्वाधार निर्माण गर्ने लक्ष्यसहित यो स्पोर्ट्स जोन तयार गरिएको हो।
    यहाँको मुख्य आकर्षण नेपालकै व्यवस्थित क्रिकेट एकेडेमी हो, जहाँ राष्ट्रिय टिमका सिद्धान्त लोहनीलगायत अनुभवी प्रशिक्षक टोलीले प्रशिक्षण दिनेछन्। बहुपिच सुविधा, आधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित यसले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।
    पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ ट्र्याक पनि यहाँ संचालनमा आउनेछ, जसले रोमाञ्च, साहसिकता र मनोरञ्जन खोज्ने सबै उमेरका खेलप्रेमीलाई आकर्षित गर्नेछ।
    स्पोर्ट्स जोनमा क्रिकेट र गो–कार्टसँगै फुटसल, क्रीकसल (क्रिकेट+फुटसल), स्केटिङ, ब्याडमिन्टन, पिकल बल, टेबल टेनिस, साथै फुटबल र तेक्वान्दो प्रशिक्षण पनि अनुभवी प्रशिक्षकको निगरानीमा उपलब्ध हुनेछ। सेवाग्राहीको सहजताका लागि २५ भन्दा बढी कर्मचारी परिचालन गरिनेछ।
    खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रत्येक प्रशिक्षार्थीको ५ लाख रुपैयाँको बीमा गरिनेछ। एकेडेमीमा भर्ना शुल्क ५ हजार र मासिक शुल्क ३ हजार निर्धारण गरिएको छ।