
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा असार १३ गते शुक्रबारदेखि अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ।

गाउँपालिकाका अधिकृत तथा गाउँ युवा परिषद्का सदस्य सचिव कृष्णप्रसाद भट्टराई र परिषद्का अध्यक्ष पुजेश कोइरालाले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी जानकारी दिएका हुन्।
प्रतियोगितामा बुढीगंगा गाउँपालिकाका सातवटै वडा र एक विद्यालयस्तरीय टोली गरी कुल ८ टिमको सहभागिता रहनेछ। नकआउट चरणका खेलहरू असार १३, १४, १५ र १६ गतेसम्म सञ्चालन हुने छन्। सेमिफाइनल खेल असार १८ र १९ गते तथा फाइनल खेल असार २१ गते हुने सदस्य सचिव भट्टराईले जानकारी दिए।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।
फुटबल प्रतियोगिता बुढीगंगा गाउँपालिका वडा नं. ६ स्थित सुक्चर खेल मैदानमा हुनेछ। सेमिफाइनल खेल श्री कर्मविर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने छ।
१२ लाख रुपैयाँ खर्चमा आयोजना हुने प्रतियोगिताको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले गर्ने कार्यक्रम तय गरिएको छ।