
विराटनगर । नेपालले मलेसियाको सेलानगोरमा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गर्दै तेस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा नेपालले इन्डोनेसियामाथि ३७० रनको विशाल जित हासिल गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको हो।

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल स्कोर खडा गरेको थियो। नेपालका लागि प्रसिद्ध थापाले १३२ रनको शतकीय पारी खेले। उनले ११५ बलमा १५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, परिमार्जन यादवले २८ बलमा ७१ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन र जोय थापाले ४१ बलमा ५७ रन बनाए। सुगम बुढाथोकीले पनि ३९ रनको योगदान दिए।
४२१ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको इन्डोनेसियाको टोली २४ ओभर ३ बलमै ५० रनमै अलआउट भयो। नेपालका बलरहरूद्वारा उत्कृष्ट प्रदर्शन गरिएको थियो। कप्तान विपिन शर्माले ७.३ ओभरमा २ मेडन राख्दै मात्र १२ रन खर्चिएर ६ विकेट लिए।
अन्य बलरहरूमध्ये प्रसिद्ध, परिमार्जन, रौनक र जोयले पनि प्रभावकारी बलिङ गरे।
यस शानदार जितसँगै नेपालले ३ खेलमा लगातार जित निकाल्दै ६ अंकसहित समूहको शीर्ष स्थानमा आफ्नो स्थान मजबुत बनाएको छ।