कोशी एलाइट कपको उपाधि मोरङलाई

विराटनगर । विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ लिग प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको  फाइनल खेलमा मोरङले झापालाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

झापाले टस जितेर मोरङलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको थियो । पहिले ब्याटिङको मौका पाएको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ ओभर ४ बल खेल्दै सबै विकेटको क्षतिमा १७४ रनको योगफल तयार पारेको थियो । कृतक कामतले ३४ रन, प्रतीक पोखरेलले २६ रन, साकिब हकले २४ रन, दीपेश कँडेलले १९ रन, प्रेम कामतले १३ रन र आइस्टाइन रिजालले १० रन बनाए । झापाका आयुष न्यौपानेले ३ विकेट, सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतो २–२ विकेट लिए ।

१७५ रनको लक्ष्य पाएको झापाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४७ रनमै सीमित भयो । आसिक राना मगरले ४३ रन, फैजल रहमानले २२ रन, आयुष न्यौपानेले ११ रन, दीपु भुलेल र भूपाल दंगालले १०–१० रन बनाए । मोरङका फिर्दोस अन्सरीले ३ विकेट, दीपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए ।

खेलको प्लेयर अफ फाइनल मोरङका दीपेश कँडेल भए । प्रतियोगिताको उत्कृष्ट ब्याटर मोरङका कृतक कामत, उत्कृष्ट बलर मोरङकै प्रेम कामत र प्लेयर अफ द सिरिज मोरङकै कप्तान दीपेश कँडेल भए ।

खेलाडीलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।