विराटनगर । विराटनगरमा जारी ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा जहदाको एभरेस्ट भेट्रान्स क्लब र आयोजक मिल्स भेट्रान्स (रातो) सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा जहदाले मिल्स भेट्रान्स क्लब (निलो) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको प्लेयर अफ द म्याच जहदाका गोलरक्षक राजेन्द्र धिमाल भए ।
त्यस्तै, दिनको अर्को खेलमा आयोजक मिल्स एरिया भेट्रान्स क्लब (रातो) ले सुनसरीको प्रकाशपुर भेट्रान्स क्लबलाई ५–१ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मिल्सका सुरज श्रेष्ठले २ गोल गरे भने कमल खवास, दिलीप बाँस्कोटा र डेनिम राईले समान १–१ गोल गरे भने । प्रकाशपुरका मुलिन सरकारले सान्त्वना गोल गरे । खेलको प्लेयर अफ द म्याच मिल्सका सुरज श्रेष्ठ भए ।
प्रतियोगिताअन्तर्गत मंगलबारको खेल उर्लाबारी भेट्रान्स क्लब र युनाइटेड भेट्रान्स क्लब विराटनगरबीच हुनेछ ।