पाहुना टोलीलाई हराउँदै आयोजकलाई मिल्स भेट्रान्स गोल्डकपको उपाधि

विराटनगर । पाहुना टोलीलाई पराजित गर्दै विराटनगरमा भएको चौथो मिल्स भेट्रान्स गोल्डकपको उपाधि आयोजकले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब (निलो) ले सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लबलाई १–० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै आयोजकले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने इटहरी उपविजेता हुँदै नगद ४१ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्त बुझाउनु पर्यो ।

उपाधि जितका लागि निर्णायक गोल आयोजकका डेनिम राईले गरेका थिए । उनले कप्तान रानु राना मगरले डिबक्स बाहिरबाट मिलाइ दिएको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे । प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बाँस्कोटा प्लेयर अफ द फाइनल, सर्वाधिक गोलकर्ता आयोजककै सुरज श्रेष्ठ र म्यान अफ द सिरिज कोमल खवास भए ।

खेलाडीहरूलाई कोशी प्रदेशका वन तथा पर्यटन मन्त्री भीम पराजुली, वडा नम्बर १६ का वडाध्यक्ष उद्धवकुमार भुजेल, मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराई लगायतले पुरस्कार प्रदान गरे ।