
विराटनगर । एसीसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ९० रनमै समेट्दै सहज जितको लक्ष्य पाएको छ।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लब मैदानमा टस जितेर बलिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमै सबै विकेट गुमाउँदै ९० रनमा अलआउट गर्यो।
मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोड्न सफल भए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि अभय यादवले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिए। सुभम खनालले ३ विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।
नेपाल अहिले ९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको छ। फाइनल पुग्न नेपालले यो सानो लक्ष्य सजिलै हासिल गर्ने अपेक्षा गरिएको छ।