मोरङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता विराटनगरमा भव्य रुपमा सम्पन्न 

विराटनगर/ नेपाल सितोरियो कराँते संघ मोरङ जिल्ला शाखाको आयोजनामा शनिबार विराटनगरमा मोरङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन वडा नं. ४ का अध्यक्ष जितेन थापाले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि थापाले खेलकुदले युवाहरुलाई लागूपदार्थको दुर्गुणबाट जोगाउँदै अनुशासित जीवनशैलीतर्फ डो-याउने बताए। साथै, स्वास्थ्य र राष्ट्र निर्माणमा खेलकुदको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानिय तहबाट बजेट विनियोजन गरी प्रतियोगितामा सहयोग गरिएको जानकारी दिए।

प्रतियोगितामा मोरङ जिल्लाका पथरी, रंगेली, बेलबारी, मिक्लाजुङ, लेटाङ, सुन्दरहरैंचा, ईटहरी , मधुमल्ला लगायत विभिन्न स्थानबाट खेलाडीहरूको सहभागिता रहेको थियो। त्यस्तै, विराटनगरका कञ्चनबारी कराँते एकेडेमी, पृथ्वी डोजो, रनकाली डोजो, मिल्स एरिया कराँते एकेडेमी, च्याम्पियन्स कराँते एकेडेमी, लगायत विभिन्न एकेडेमी बाट गरी करिव ३०० खेलाडीहरूले प्रतियोगितामा भाग लिएका थिए।

प्रतियोगितामा सुन्दर हरैचा स्थित प्रभात किरण कराते एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो भने बेलबारीले दोस्रो र कञ्चनबारी कराँते एकेडेमीले तेस्रो स्थान प्राप्त गरे।

समापन समारोहमा सितोरियो कराँते संघका केन्द्रीय सदस्य धर्म न्यौपाने, मोरङ कराँते संघका अध्यक्ष चन्द्र पराजुली, रंगेली कराँते डोजोका प्रशिक्षक गोपाल बराल, मोरङ जिल्ला सितोरियो कराँते संघका उपाध्यक्ष बलबहादुर बराल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

यस प्रतियोगिताले जिल्लाभरिका कराँते खेलाडीबीच आपसी प्रतिस्पर्धा र कौशल विकासका लागि सशक्त मंच प्रदान गरेको आयोजकले बताएका छन्।