नेपालले आयोजकसग खेल्दै  टप इण्ड टि ट्वान्टी सिरिजको सुरुवात गर्ने

विराटनगर । नेपालले अर्को महिना आयोजकसँग खेल्दै अस्ट्रेलियामा टप इण्ड टि ट्वान्टी सिरिजको सुरुवात गर्ने भएको छ ।

अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलवार सिरिजको खेलतालिका जारी गरेको हो । खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ ।

दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगट्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२(भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।

एनटीको आयोजनामा हुने सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल) का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।

खेलतालिका अनुसार खेलहरु पाँच वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।