
काठमाडौं/ आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तर्गत स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने छ।

शृङ्खलाको यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो। त्यसपछि दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पनि हराउँदै शानदार प्रदर्शन गरेको थियो।
अहिलेसम्म १४ खेल खेलेको नेपाल १० अंकसहित लिग तालिकाको सातौँ स्थानमा रहेको छ। लिगको शीर्ष स्थानमा अमेरिका २० खेलमा २८ अङ्कसहित रहेको छ भने नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ। त्यस्तै, ओमान २० खेलमा २४ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ।स्कटल्याण्ड १८ खेलमा २२ अङ्कसहित चौथो स्थानमा छ भने क्यानडा २० खेलमा २० अङ्कका साथ पाँचौँ र नामिबिया २० खेलमा १४ अङ्कसहित छैटौँ स्थानमा छ।
आजको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ, जसले तालिकामा माथि उक्लन मद्दत गर्नेछ। नेपाली टोली उत्साहित मनोबलसहित मैदानमा उत्रने अपेक्षा गरिएको छ।