
विराटनगर।नेपालले टि ट्वान्टी विश्व कपको एसियाली तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ ।

ओमानमा असोज २२ ( अक्टोबर ८ ) गते छनोट प्रतियोगिता सुरु हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेलमा असोज २४ (अक्टोबर १०) जापानसँग खेल्नेछ ।
सुपर सिक्सको शीर्ष ३ मा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्व कप खेल्नेछ। ।
नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टि ट्वान्टी आई सिरिज खेल्नेछ ।
विश्वकप छनोटमा नेपाल, कुवेत र जापान सहित ९ राष्ट्रको सहभागिता रहने छ । सहभागी ९ राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा युएई, मलेसिया र कतार रहँदा समूह ‘बि’ मा नेपाल, कुवेत र जापान रहेका छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन् ।
समूहको शीर्ष २ मा सुपर सिक्समा पुग्नेछन्। अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष ३ मा पर्ने टोली विश्व कपमा पुग्नेछ ।
भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । शुक्रवार युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।