
विराटनगर । अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार राति भएको खेलमा लियोनल मेसीको उत्कृष्ट प्रदर्शनसँगै इन्टर मियामीले नशभिल एससीलाई २–१ ले पराजित गर्दै लिगको ११औं जित निकालेको छ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मेसीले लगातार पाँचौं खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाए। यो जितसँगै इन्टर मियामीले १९ खेलबाट ३८ अंक बनाएको छ र लिगको आठौं स्थानमा उक्लिएको छ।
खेलको १७औं मिनेटमा मेसीले फ्रि किकमार्फत सुन्दर गोल गर्दै मियामीलाई अग्रता दिलाए। तर दोस्रो हाफको ४९औं मिनेटमा नशभिलले बराबरी गोल फर्काउँदै खेलमा पुनरागमन गर्यो।
खेलको ७२औं मिनेटमा मेसीले पुनः जादु देखाउँदै निर्णायक गोल गरे। यसपटक उनले नशभिलका गोलकिपरको खराब निर्णयको भरपूर फाइदा उठाउँदै सहज रूपमा बललाई जाली चुमाए।
यो जितले मियामीको शीर्ष चारमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। यता, लगातार १५ खेलसम्म अपराजित रहँदै आएको नशभिल एससीको शृङ्खला भने मेसीकै हातबाट टुटेको छ। नशभिल २२ खेलमा ४१ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।