सुनसरीमा प्रहरीको ठूलो कारबाही : २०९ किलोभन्दा बढी गाँजासहित ५ जना पक्राउ, मलद्वारमा लुकाइएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा

सुनसरी। सुनसरी प्रहरीले लागूऔषधविरुद्धको कारबाहीलाई तीव्रता दिँदै धरानबाट २०९ किलोभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ भने इनरुवाबाट मलद्वारमा लुकाएर ल्याइएको ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ साल कार्तिक १६ गते बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडामा गाँजा लोड भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा छापा मारेको थियो।

प्रहरीलाई देख्नासाथ गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि प्रहरीले बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियो गाडीसहित २०९ किलो ४२० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको हो।

उक्त घटनामा सप्तरीका रामसागर कुमार यादव, राजेन्द्र प्रसाद मण्डल, राजकुमार साह, भारत बिहारका सन्तोष ठाकुर र धरान–११ का अमृत बिशुङखेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, कार्तिक १५ गते दिउँसो करिब ४ बजे इनरुवा नगरपालिका–४ बसचोकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जना पैदलयात्रीलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उदयपुरको बेलका नगरपालिका–४ निवासी नवीन राईको मलद्वारबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा नवीन राई र सुमन राईलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।

दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको अन्वेषण तथा योजना शाखाले जनाएको छ।

#SunrisePatra #Nepal #SPUPDATE