धरान । सुनसरीको धरानस्थित भानुचोकमा प्रहरीले रोक्न खोज्दा नरोकी भागेको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट १६ बोरा गाँजा बरामद गरेको छ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर ११ ३०३९ नम्बरको स्कारपियोलाई मंसिर ५ गते राति करिब ११ः३० बजे भानुचोकमा प्रहरीले रोक्न खोजेको थियो। तर चालकले गाडी नरोकी भागेपछि प्रहरीले धरान–८ स्थित सेउती खोलाको पुलबाट गाडीसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गाडी चेकजाँच गर्दा १६ बोरा अर्थात् ४९९ किलो गाँजा फेला परेको थियो।
गाडी चालक मोरङको विराटनगर महानगरपालिका–१३ झमेली चोकका ३२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिएका छन्।