नेपाल–श्रीलंका यु-२० महिला फुटबल खेल एक घण्टा पछि सरेको घोषणा, अब ७:४५ बजे सुरु हुने

विराटनगर । बंगलादेशको ढाकामा भइरहेको यु–२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा पछाडि सारिएको छ।

ढाकामा परेको भारी वर्षाका कारण आज हुने खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो हुने भएको हो। अब खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुने बताइएको छ। खेलअघि समय ६:४५ निर्धारण गरिएको थियो।

प्रतियोगिताको अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ भने श्रीलंका अन्तिम स्थानमा रहेको छ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेपनि दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग पराजय बेहोरेको थियो।

श्रीलंका भने अहिलेसम्म जितविहीन छ। उसले पहिलो खेलमा बंगलादेशसँग ९–१ र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजय भोगेको थियो।

आजको खेल नेपालका लागि सेमिफाइनल सम्भावना बलियो बनाउने अवसर हो भने श्रीलंकाका लागि प्रतियोगितामा पहिलो जितको खोजी गर्ने मौका हुनेछ।