
विराटनगर । बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनाको प्रशिक्षण मैदानमा बिहीबार सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकामाथि ७–० को प्रभावशाली जित दर्ता गरेको छ।

नेपालका लागि समीक्षा मगरले दुई गोल गर्दा, पूर्णिमा राई, कुशुम खतिवडा, सरिता कुमारी र बिर्सना चौधरीले समान एक–एक गोल गरे। यस्तै, श्रीलंकाकै खेलाडीबाट गरिएको आत्मघाती गोलमार्फत नेपालले थप एक गोलको उपहारसमेत पाएको थियो।
खेलको १६औँ मिनेटमा पूर्णिमा राईले नेपालका लागि खाता खोलेकी थिइन्। त्यसपछि ३५औँ मिनेटमा कुशुम खतिवडाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन्। ४२औँ मिनेटमा सरिता कुमारीको सुन्दर फ्रिकिक गोल र ४४औँ मिनेटमा भएको आत्मघाती गोलले नेपालले पहिलो हाफमै ४–० को बलियो अग्रता बनाएको थियो।
दोस्रो हाफमा नेपालले आक्रामक प्रदर्शनलाई जारी राख्यो। ६७औँ मिनेटमा बिर्सना चौधरीले पेनाल्टीमार्फत गोल गर्दा स्कोर ५–० भयो। त्यसपछि समीक्षाले ७४औँ र ७८औँ मिनेटमा दुई गोल थप्दै नेपालको जितलाई ७–० मा पुर्याइन्।
खेलको अन्त्यतिर नेपालले पुनः पेनाल्टीको अवसर पाएको थियो। श्रीलंकन रक्षकले वर्षा ओलीलाई बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई सुशिला केसीले गोलमा परिणत गर्न नसकेकी हुन्। उनको प्रहारलाई श्रीलंकन गोलरक्षकले रोकेकी थिइन्।
यो जितसँगै नेपालले प्रतियोगितामा तीन जित र एक हारसहित चार खेलबाट ९ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा कायम छ। समान अंक भए पनि गोलअन्तरका कारण नेपाल बंगलादेशभन्दा तल रहेको छ।
नेपालले यसअघि भुटानलाई ६–१ ले पराजित गरेको थियो भने बंगलादेशसँगको खेलमा ३–२ को हार व्यहोरेको थियो। पछिल्लो दुई खेलमा शानदार जित दर्ता गर्दै नेपालले उपाधि दौडमा आफ्नो सम्भावना बलियो बनाएको छ।