विराटनगर किङ्सले ‘भी-चित्र’लाई आधिकारिक मार्केटिङ एजेन्सी नियुक्त गर्‍यो

विराटनगर। कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम विराटनगर किङ्सले आधिकारिक मार्केटिङ तथा सञ्चार साझेदारका रूपमा भी-चित्रलाई नियुक्त गरेको छ।

यो नयाँ रणनीतिक सहकार्यले विराटनगर किङ्सको ब्रान्ड उपस्थिति थप सुदृढ बनाउने, फराकिलो दर्शकसँग प्रभावकारी रूपमा संलग्न हुने र सम्पूर्ण मार्केटिङ अभियानलाई थप व्यवस्थित र सशक्त बनाउने लक्ष्य लिएको छ।

भी-चित्र एक स्थापित मार्केटिङ एजेन्सी हो, जसले डिजिटल मार्केटिङ, ब्रान्ड विकास, पीआर व्यवस्थापन र दर्शक संलग्नता जस्ता क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेको छ। अबदेखि उक्त एजेन्सी विराटनगर किङ्सको सम्पूर्ण मार्केटिङ प्रयासको नेतृत्व गर्नेछ।

विराटनगर किङ्सका टिम मालिक वेङ्कटेश मुन्द्राले भने, “हामी भी-चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौं। वहाँहरूको सिर्जनात्मक सोच र रणनीति हाम्रो दीर्घकालीन दृष्टिकोणसँग मेल खान्छ। यो सहकार्यले समर्थकहरूसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ।”

त्यस्तै, भी-चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले भने, “विराटनगर किङ्सको मार्केटिङ एजेन्सी बन्न पाउनु गौरवको विषय हो। हामी वहाँहरूको मौलिकता झल्काउने इनोभेटिभ क्याम्पेनहरू तयार गर्दै, ब्रान्डलाई अझ सशक्त बनाउनेमा प्रतिबद्ध छौं।”

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै आएको छ। क्लबको उद्देश्य स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र प्रशंसक तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्नु हो।

भी-चित्रसँगको सहकार्यले आगामी सिजनमा नयाँ ढंगले दर्शक संलग्नता र ब्रान्ड सुदृढीकरणमा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ।