नेपाली महिला फुटबल टोलीको ऐतिहासिक फिफा वरीयता, १३ स्थान उक्लिँदै ८७औं स्थानमा

विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा इतिहास रच्दै १३ स्थानको सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा रहेको थियो।

यो नेपाली महिला फुटबल इतिहासकै सर्वोच्च वरीयता हो। यसअघि ९१औं स्थान नै नेपालको उत्कृष्ट उपलब्धि थियो।

गत जुलाईमा उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।

दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा रहँदै ७ स्थान सुधार गर्दै ६३औं स्थानमा पुगेको छ। नेपाल दोस्रो स्थानमा छ भने बंगलादेशले २४ स्थानको सुधार गर्दै १०४औं स्थान हासिल गरेको छ। भारत र बंगलादेश दुवै टोली आगामी एसियन कपका लागि छनोट भएका छन्।