एसिया कपमा सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हरायो

विराटनगर। यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराएको छ । शनिबार राति भएको सुपर फोरको पहिलो खेलमा बंगलादेश ४ विकेटले विजयी भएको हो ।

श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशको जितमा ओपनर सैफ हसनले ६१ तथा तोहिद रिदोएले ५८ रन बनाए । कप्तान लिटन दासले २३ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगा र दशुन शनकाले २-२ विकेट लिँदा नुवान थुसारा र दुश्मान्था चमीराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ७ विकेठ गुमाएर १६८ रन बनाएको थियो । दशुन शनकाले अविजित ६४ रन बनाए । कुसल मेन्डिसले ३४ रन, पथुम निसान्काले २२, कप्तान चरिथ असलंकाले २१ रनको योगदान दिए ।

बंगलादेशका मुस्तफिजुर रहमानले ३, मेहदी हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए ।

योसँगै बंगलादेशले समूह चरणमा श्रीलंकासँग बेहोरेको हारको बदला समेत लिएको छ र सुपर फोरमा २ अंक जोडेको छ ।

सुपर फोरमा बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन् ।