त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेबाट सुरु हुने छ।

नेपाल र स्कटल्याण्डबीच टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हुने छ । यसअघि सन् २०१३ मा यूएईमा भएको टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । त्यसयता दुबै टिमबीच टी–२० आई खेल भएको थिएन ।

सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग सुपर ओभरसम्म पुगेको रोमाञ्चक खेलमा तेस्रो सुपर ओभरमा पराजित भएको थियो । सो खेलसँगै नेपालले टी–२० आई मा १००औं खेल पनि पूरा गरेको छ ।

त्यस्तै, स्कटल्याण्डले शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै शानदार सुरुवात गरेको थियो ।आजको खेल नेपाल र स्कटल्याण्ड दुबै टोलीका लागि महत्वपूर्ण रहने छ ।