नेपाली फिल्म ‘अञ्जिला’को प्रदर्शन सय दिन पुरा, १२ करोड माथिको व्यापार

विराटनगर । गत वर्षको फागुन २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ले लगातार प्रदर्शनको एक सय दिन पार गरेको छ। फिल्म शुक्रबारबाट देशभरका ७ हलहरूमा एक सय दिन पुरा गर्न सफल भएको हो।

फिल्म काठमाडौंको क्युएफएक्स सिटी स्क्वायर मल, कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

फिल्मका निर्देशक मिलन चाम्सले दर्शकले दिएको मायाप्रति आभार व्यक्त गर्दै ‘अञ्जिला’ले हालसम्म १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी दिएका छन्।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्ममा एन्जिलानै मुख्य भूमिकामा देखिएकी छिन्। साथै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

फिल्मले खेलकुदमा महिलाको संघर्ष र सफलताको कथा प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको छ।