काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी शुरुआत गरेको छ । सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २ विकेट तथा नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो । सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए ।
एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।