रोहित शर्मालाई पछि पार्दै ड्यारेल मिचेल आईसीसी वरीयताको शीर्ष स्थानमा

काठमाण्डाै  । भारतका रोहित शर्मालाई पछि पार्दै न्युजिल्यान्डका ड्यारेल मिचेल आईसीसी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक पछिल्लो वरीयतामा मिचेल दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेका हुन् । योसँगै मिचेल सन् १९७९ मा ग्लेन टर्नरपछि एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुग्ने न्युजिल्यान्डका दोस्रो खेलाडी बनेका छन् ।

मार्टिन क्रो, रस टेलर र केन विलियमसन जस्ता खेलाडीहरू एकदिवसीय वरीयतामा शीर्ष पाँचमा परेका छन् तर कहिल्यै पनि शीर्ष स्थानमा पुग्न सकेका छैनन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा रोहित शर्मा दोस्रो, अफगानिस्तानका इब्राहिम जाद्रान तेस्रो स्थानमा छन् । यो वरीयतामा नेपालका आसिफ शेख ९३औं र रोहित पौडेल ९५औं स्थानमा यथावत् छन् ।

यस्तै एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष, इङ्ग्ल्यान्डका जोफ्रा आर्चर दोस्रो र दक्षिण अफ्रिकाका केशव महाराज तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा नेपालका सन्दीप लामिछाने एक स्थान तल झर्दै ४९औं, ललित राजवंशी ५६औं, दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ८२औं र करण केसी दुई स्थान तल झर्दै ९३औं स्थानमा छन् ।

यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र अफगानिस्तानकै मोहम्मद नबी तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४१औं, सन्दीप लामिछाने एक स्थान तल झर्दै ५८औं, करण केसी ६८औं, सोमपाल कामी एक स्थान तल झर्दै ७३औं, कुशल मल्ल एक स्थान तल झर्दै ७४औं र ललित राजवंशी एक स्थान तल झर्दै ८३औं स्थानमा छन् ।