एसीसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता, यूएईसँग २७ रनले पराजित

काठमाण्डाै । एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता बनेकाे छ । हिजो भएकाे फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भयाे ।

यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । नेपालका कप्तान अशोक धामीले सबैभन्दा धेरै ३४ रन बनाए । यूएईका युग जय शर्मा र अली असगर शम्सले ३/३ विकेट लिए ।

यसअघि घरेलु मैदान कारवानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदा अलआउट भयो । यूएईका अहमद खुदादादले सबैभन्दा धेरै ७१ रन बनाए । नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १/१ विकेट लिए ।

नेपाल र यूएई यसअघि नै एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । यस्तै हिजै तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई हराउँदै मलेशिया पनि एशिया कपमा छनोट भएको छ । १९ वर्षमुनिको एशिया कप यही डिसेम्बर १२ देखि यूएईमै शुरू हुँदैछ ।