पोखरालाई हराउँदै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफमा

काठमाण्डौ । पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ ।

काठमान्डु यो सिजनको एनपीएलको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ भने काठमान्डुको शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनेको छ । काठमान्डु गोर्खाजले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १० विकेट गुमाएर एक सय ५२ रन मात्र बनाउन सक्यो । काठमान्डुका शाहब आलमले सानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिए ।

आलमले २०औं ओभरको शुुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने । पोखराका लागि ऋषि धवनले ५४ रन बनाए । त्यसअघि कीर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।

काठमान्डुका ओपनर बेन चाल्र्सवर्थले ६४ र भिम शार्कीले ५५ रन बनाए । पोखराका लागि धनन्जय लक्षनले ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १–१ विकेट लिए । काठमान्डुले सात खेलमा ५ जीतसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ ।