नेपाली क्रिकेटका ‘आइस म्यान’ आरिफ

२२ जेठ, काठमाडौं । आरिफ शेख नेपाली क्रिकेट टोलीमा मिडल अर्डर अर्थात् मध्यक्रममा खेल्ने ब्याटर हुन् । नेपालका लागि एकदिवसीय खेलमा राम्रो प्रदर्शन गर्दै आएका आरिफले क्रिजमा टिकेर खेल्दै जुनसुकै परिस्थितिमा पनि संयमित ब्याटिङ गर्न सक्छन् ।

बुधबार भएको नेदरल्याण्ड्ससँगको खेलमा पनि उनले एकदिवसीय ब्याटरले खेल्नुपर्ने शैलीमा खेल्दै फेरि एकपटक मध्यक्रममा आफू भरपर्दा ब्याटर भएको प्रमाणित गरेका छन् ।
उनको करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ७८ रन बनाए जसको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई हराएर जारी लिग २ क्रिकेटको शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।

सुरुमा केही स्लो रनगतिमा खेलेपनि एक समयदेखि आरिफले रनगति बढाउन थालेका थिए । आवश्यकता अनुसार दुई महत्वपूर्ण साझेदारी गरेका आरिफले नेपालको जितको आधार नै तय गरे ।