एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

विराटनगर।  ड्यारिल मिचेलको नटआउट १ सय ३१ रनको मद्दतमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हराउँदै एकदिवसीय क्रिकेट शृङ्खलामा १–१ को बराबरी बनाएको छ ।

हिजो राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो ।

भारतका केएल राहुलले अविजित १ सय १२ रन बनाए । राहुलले ९२ बलमा ११ चौका र १ छक्का प्रहार गरे । ओपनर तथा कप्तान शुभमन गिलले ५३ बलमा ९ चौका र १ छक्कासहित ५६ रन बनाए । रविन्द्र जडेजाले २७, अर्का ओपनर रोहित शर्माले २४, विराट कोहलीले २३ तथा नितिश कुमार रेड्डीले २० रन जोडे । न्युजिल्यान्डका क्रिस्टियन क्लार्कले ३ विकेट लिए ।

न्युजिल्यान्डका डेभन कन्वे १६ र हेन्री निकोल्स १० रनमा आउट भए । त्यसपछि ड्यारिल मिचेल र विल यंगले तेस्रो विकेटका लागि १ सय ६२ रनको साझेदारी गर्दै खेल न्युजिल्यान्डको पक्षमा पारे । यंगले ९८ बलमा ७ चौकासहित ८७ रन बनाए । न्युजिल्यान्डले ४७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अब दुवै टोलीबीचको अन्तिम खेल इन्दौरमा आउँदो आइतवार हुनेछ ।