विराटनगर । पोखरामा भोलिदेखि शुरु हुने ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालामा रहेको भलिबल कोर्टमा खेल सञ्चालन हुनेछ ।
आयोजकले हिजो पोखरा रङ्गशालामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।
प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र थाइल्याण्ड क्विन्स थाइल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, पुरुषतर्फ विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स भलिबल एशोसियसनले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । पुरुषतर्फ त्रिभुवन आर्मीले मालदिभ्स भलिबल एशोसियसनसँग खेल्नेछ । यसैगरी, भोलिको तेस्रो खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल सङ्घले सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।
छैटौँ संस्करणको उपाधि जित्ने महिला तथा पुरुष टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।
यसैगरी, सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६ सय ६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद ११ हजार ६ सय ६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाँचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।