एन्फाले समय तालिका नदिँदा विराट गोल्डकप र इटहरी गोल्डकप अन्योल

विराटनगर । समय तालिका मिलाउन नसकेपछि कोशी प्रदेशको प्रतिष्ठित ‘विराट गोल्डकप’ को आयोजना यो वर्ष हुने सम्भावना न्यून बनेको छ । ट्रस्टको माग गरेअनुसार आउने फागुन २ गतेका लागि गोल्डकप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुवाती मिति उपलब्ध गराएको थियो ।

खराब मैदानको अवस्था र नजिकिँदो निर्वाचनलाई लिएर प्रशासनको गरेको आग्रहमा गोल्डकप चैतमा सार्ने ट्रस्टले जनाएको छ । तर, एन्फाले चैतमा तालिका निकाल्न गाह्रो हुने जनाएपछि गोल्डकप आउँदो वर्ष ०८३ को वैशाखमा हुने सम्भावना देखिएको ट्रस्टले जनाएको छ ।

ट्रस्टका प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपका लागि फागुन २ गतेको मिति तय गरिएको भए पनि निर्वाचन र समय छोटो हुँदा पछि सार्ने सल्लाह भएको छ । प्रवक्ता लामाले भने, ‘हामीले फागुन २ गते गर्नका लागि तयारी सुरु गर्न लागेका थियौँ । पछि, मोरङ प्रशासनले निर्वाचनपछि गर्न आग्रह गर्‍यो र मैदान बनाउन पनि समय कम हुने देखियो । त्यसपछि अब हामीले एन्फासँग चैतको दोस्रो साताको मिति मिलाउन आग्रह गरेका छौँ ।’

उनका अनुसार गोल्डकपका लागि मैदानमा टोली पनि स्तरीय नै उतार्नु पर्ने जिम्मेवारी ट्रस्ट समक्ष छ । विराटनगर र आसपासका फुटबल दर्शकलाई आकर्षित गर्ने क्लब भित्र्याउन समयसमेत मिलाउने प्रयास भइरहेको ट्रस्टका प्रवक्ता लामाको भनाइ छ ।

फागुन २ गते गोल्डकप गर्न सम्भव नभएपछि नयाँ मिति जुराउन एन्फाले काम गरिरहेको ट्रस्टले जनाएको छ । यद्यपि, चैत महिनामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता परेको हुँदा मिति तय गर्न गाह्रो रहेको एन्फाले जनाएको छ । अन्य, टोली लिएर गोल्डकप गराउन मिति निस्कने भए पनि ट्रस्टले ‘ए’ डिभिजन क्लब नै आवश्यक हुने जनाएपछि वैशाख अघि गोल्डकपका लागि मिति जुराउन गाह्रो हुने एन्फाका एक पदाधिकारीले बताए ।

उनका अनुसार जारी राष्ट्रिय लिग चैत ३१ गतेसम्मको तालिकामा रहेको छ । त्यसैगरी, चैतको ११ देखि २१ गतेसम्म राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुनेछ । सो अवधिमा नेपालले चैत १३ गते हङकङसँग मैत्रीपूर्ण र चैत १७ गते लाओसविरुद्ध एएफसी एसियन कप छनोटको खेल खेल्नुपर्ने तालिका छ । हङकङविरुद्धको खेल काठमाडौंमा हुने तय भए पनि लाओसविरुद्धको खेल हुने स्थान तय हुन बाँकी रहेको छ ।

त्यस्तै, सुनसरीको इटहरी गोल्डकप पनि केही समय धकेलिने भएको छ । एन्फासँगको सहमतिमा इटहरी गोल्डकप चैत २८ गतेबाट वैशाख ४ गते सक्ने सम्भावना रहेको छ । यसअघि गोल्डकपले चैतको ११ देखि २१ गतेसम्मको समय पाएको थियो । यसबीच पोखरामा आहा रारा गोल्डकप, गोरखामा हुने गोल्डकप, झापा गोल्डकप पनि हुने एन्फाले जनाएको छ ।