नेपालले एसिसी यु–१६ प्रतियोगितामा भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै

विराटनगर । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। मलेसियाको सिलेङगर ट्रफ क्लबमा मंगलबार भएको खेलमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

यसअघि नेपालले प्रतियोगितामा शानदार प्रदर्शन गर्दै लगातार तीन खेलमा जीत हासिल गरिसकेको छ। पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान र तेस्रो खेलमा इन्डोनेसियामाथि नेपाल विजयी भएको थियो। यी तीनै जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

उक्त समूहबाट नेपालसँगै सिंगापुरले पनि सेमिफाइनलको यात्रा तय गरिसकेको छ। यता, भुटानले भने प्रतियोगितामा खेलेका सबै तीन खेलमा पराजय भोगेको छ। सिंगापुर, जापान र इन्डोनेसियासँगको पराजयपछि भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। सहभागी राष्ट्रहरू दुई समूहमा विभाजन गरिएका छन्। समूह ‘ए’ मा नेपाल, सिंगापुर, जापान, इन्डोनेसिया र भुटान रहेका छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल असार २१ गते (जुलाई ५) का लागि तय गरिएको छ।