विराटनगर । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज (आइतबार) नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा लगातार दुई हार व्यहोरेको नेपाल आइतबार पहिलो जितको खोजीमा मैदान उत्रँदैछ भने वेस्ट इन्डिज आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार बेहोरेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा अन्तिम ओभरसम्म संघर्ष गरे पनि जित हात पार्न सकेन । दोस्रो खेलमा भने इटालीसँग १० विकेटले पराजित भएपछि टोली दबाबमा परेको छ । त्यसैले आइतबारको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।
वेस्ट इन्डिजले भने सुरुआती दुवै खेल जित्दै उत्कृष्ट सुरुआत गरेको छ । बलियो ब्याटिङ र आक्रामक खेलशैलीका कारण टोली लयमा देखिएको छ । नेपालसँगको खेलमा पनि वेस्ट इन्डिज आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ ।
विश्वकपअन्तर्गत आइतबार नै अन्य खेलमा नामिबिया र अमेरिका दिउँसो प्रतिस्पर्धा गर्नेछन् भने साँझ भारत र पाकिस्तानबीच बहुप्रतिक्षित भिडन्त हुनेछ ।