
विराटनगर। मलेशियामा जारी एसीसी पुरुष १६ वर्षमुनीको पूर्वक्षेत्रीय कप क्रिकेटमा नेपाली टोलीले अपराजित यात्रा कायम राख्दै सेमीफाइनल प्रवेश गरेको छ।
प्रतियोगिता अन्तर्गत हिजो क्वालालाम्पुरमा भएको खेलमा नेपालले भुटानलाई २ सय ९८ रनका फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनका योगफल बनाएको थियो।

खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रममा रौनक श्रीवास्तवको १ सय ६८ रनको मद्धतले टोलीले ठूलो योगफल बनाएको थियो । श्रीवास्तवलाई क्रिजमा विकेट किपर शिवान्स बजगाइले ५४ र जय थापाले अविजित ६१ रन बनाएर साथ दिएका थिए ।
भुटानका लागि साङ्गे दोर्जीले १० ओभरमा ७० रन दिएर ३ विकेट लिए। निर्धारित लक्ष्य पछ्याउने क्रममा भुटानको टोली ३२ दशमलव ४ ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो । भुटानका साङ्गे दोर्जी चोटिल भएपछि ब्याटिङ गर्न मैदानमा आएनन्। जित हात पारेको नेपाल समूह ए मा ३ खेलमा सबैमा जित हात पार्दै ६ अंकसहित पहिलो स्थानमा रहेको छ ।