नेपाललाई फाइनलमा सहज लक्ष्य

विराटनगर ।  किफायती बलिङ गरेको नेपालले एसिसी मेन्स यु १६ इस्ट जोन कपको फाइनलमा सहज लक्ष्य पाएको छ।

सिंगापुर १ सय १३ रनमा अल आउट गराएपछि नेपालले उपाधि जित्नका‌लागि १ सय १४ रनको सामान्य लक्ष्य पाएको छ ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट भएको थियो ।

सिंगापुरका रोहन अस्टिनले ८४ बलको सामना गर्दै सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे ।

वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सुशील बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।