विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा शुत्रबारदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट विथआउट बाउण्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा विराटनगरको मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबार भएको खेलमा विराटनगर हव र राजविराज हव विजयी भएका छन् ।
पहिलो खेलमा विराटनगरले आयाजकको एनसीएफ ११लाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
विहिबार राती पानी परेको कारण १० ओभरमा खेलाएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ४ विकेट गुमाई ८३ रनको योगफल तयार पारेको थियो । विराटनगरकी प्रिन्सा राना मगरले २७ रन बनाउँदा सुभेक्छा लिम्बुले १४ रन बनाइन् । एनसीएफकी अनिषा थापाले २ विकेट लिँदा कप्तान झरना घिमिरे र रोजु परियारले १–१ विकेट लिइन् ।
८४ रनको लक्ष्य पाएको एनसीएफले पुरै ओभर खेल्दै ६ विकेटमा २३ रन मात्र बनाउँन सक्यो । एनसीएफकी शकुन्तला सहनीले सर्वाधिक अविजित १० रनको योगदान दिइन् । विराटनगरकी प्लेयर अफ म्याच सुभेक्छा लिम्बुले ३ विकेट लिँदा कप्तान सानु राजवंशीले १ विकेट लिइन् ।
दोस्रो खेलमा राजविराज हवले सिरहा हवलाई ७ विकेटले पराजित गरेको छ ।
टस हारे ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ दशमलव ४ बलमा सवै विकेट गुमाई ३८ रनमा सिमित भयो । सिरहाकी कप्तान सरस्वती चौधरीले सर्वाधिक अविजित १३ रन बनाइन् । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले ६ विकेट लिँदा दिपा राम, अपेक्षा यादव र बन्धना राजकले १–१ विकेट लिइन् । साक्षीले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन मात्र दिइन्
३९ रनको झिनो लक्ष्य पाएको राजविराजले १० दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । राजविराजकी कप्तान साक्षी यादवले सर्वाधिक १५ रनको योगदान दिइन् । सिरहाकी कप्तान सरस्वती चौधरीले १ विकेट लिँदा प्रसिधिका खड्का र मिना महतोले पनि १–१ विकेट लिइन् ।
चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी–२० फरम्याटमा खेलाएको प्रतियोगितामा सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।
