काठमाडौं, १७ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले आक्रामक प्रदर्शन गर्दै ४३ बलमा १२९ रनको शानदार शतकीय इनिङ्स खेले। उनले ५ चौका र १६ छक्का प्रहार गरे। भुर्तेललाई कुशल मल्ल र रोहित पौडेलले उत्कृष्ट साथ दिए। मल्लले ४७ बलमा ८५ रन बनाए भने पौडेल २१ बलमा ६९ रन जोड्दै अविजित रहे।भुर्तेलले खेलको नवौं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमानसमेत बनाए। उनी एकै ओभरमा ६ छक्का हान्ने नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौं खेलाडी बने।नेपालको यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक योगफल हो। यसअघि नेपालले एसियन गेम्समै मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।चीनका लागि मा कुइनचेन र डेंग जिंकीले समान एक–एक विकेट लिए।
