महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ असार १३ गते विराटनगरमा

विराटनगर,

सामाजिक क्षेत्रमा सक्रिय एलायन्स युवा क्लबले महिला सशक्तीकरण, स्वास्थ्य प्रवर्द्धन तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकासलाई लक्षित गर्दै महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ आयोजना गर्ने भएको छ। क्लबले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी असार १३ गते शनिबार बिहान ७ बजे विराटनगरस्थित जनपथ स्कुलमा महोत्सव आयोजना गरिने जानकारी दिएको हो। क्लबका अध्यक्ष विपुल चौधरीका अनुसार महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनेछन्। प्रतियोगिताअन्तर्गत म्युजिकल चियर, बल पास, ब्याडमिन्टन, चम्चा दौड, बेलुन फोड्ने, नृत्य प्रतियोगिता, र्याम्प वर्क तथा नाटक प्रतियोगिता समावेश गरिएको छ।

आयोजकका अनुसार एक सहभागीले अधिकतम चारवटा खेल तथा प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि सहभागिता शुल्क २० रुपैयाँ निर्धारण गरिएको छ।

महोत्सवमार्फत महिलाहरूको प्रतिभा उजागर गर्न, सामाजिक सहभागिता बढाउन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ। कार्यक्रममा करिब दुई सय जना सहभागी हुने अपेक्षा गरिएको क्लबले जनाएको छ।

एलायन्स युवा क्लबले महोत्सवलाई महिला प्रतिभा, खेलकुद र सांस्कृतिक अभिव्यक्तिको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।