कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव कायमै रहँदा पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले आज (आइतबार) देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

हाल लुम्बिनी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली छ । तराईका अधिकांश भू–भागमा भने आंशिक बदली रहेको छ । बागमती प्रदेशका थोरै तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आइतबार दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले ती क्षेत्रका नदी, खोला तथा पहिरोको जोखिम रहेका स्थानमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

 

राति पनि मौसममा ठूलो सुधार आउने छैन । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

 

यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।