विराटनगर । मोरङको रंगेली नगरपालिका–१ सरदा टोलमा पूजा गरेर बालिएको दियोबाट सल्किएको आगोले किराना पसलमा ठूलो क्षति पुर्याएको छ ।
प्रहरीका अनुसार शनिबार राति करिब १०ः२० बजेतिर ४५ वर्षीय नरेश चौधरीको पक्की एकतले किराना पसलमा पूजा गर्न बालिएको दियोबाट अचानक आगलागी भएको हो । आगलागीबाट पसलभित्र रहेका विभिन्न सामान जलेर नष्ट हुँदा करिब १० लाख ३९ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
आगोले मानवीय तथा चौपाया क्षति भने भएन । आगलागीको सूचना पाएलगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए । स्थानीय र दमकलको सहयोगमा करिब डेढ घण्टापछि आगो पूर्णरूपले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भए पनि आसपासका घरमा क्षति हुनबाट भने जोगाइएको छ । घटनो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।