बस आगलागीमा घाइते भएका चालकको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा चालक आफैंले आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसमा आगलागी हुँदा शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका चालकको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचार भइरहेको थियो । उनको आज (मंगलबार) बिहान उपचारकै क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।आगलागीपछि सुरक्षाकर्मी र स्थानीयले बसबाट उद्धार गरी चालकलाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

मृतकको पहिचान भने अहिलेसम्म खुलेको छैन । प्रहरीका अनुसार चालकसँग भेटिएको लाइसेन्सका आधारमा सुरुमा उनको नाम दावा लामा भएको अनुमान गरिएको थियो ।

 

तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू सकुशल रहेको र उक्त लाइसेन्स आफ्नो भएको बताएपछि मृतकले उनको नामको लाइसेन्स दुरुप्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले मृतकको वास्तविक नाम, ठेगाना र पहिचान खुलाउने प्रयास गरिरहेको छ ।