मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास

विराटनगर । कुनै समय आपराधिक समूहको दबदबा, धम्की र आर्थिक शोषणका कारण चर्चामा रहने मोरङ कारागारमा पछिल्लो समय सुधारको प्रयास थालिएको छ । कारागारका कैदीबन्दी र बाल सुधार गृहका बालविज्याइँकर्तालाई विपश्यना ध्यान, नैतिक शिक्षा र सकारात्मक व्यवहार परिवर्तनको अभ्यासमा सहभागी गराउन थालिएको छ ।

मोरङ कारागारका विभिन्न ब्लक तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी र बालविज्याइँकर्ताले दैनिक बिहान–साँझ विपश्यना ध्यान गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको पहलमा सुरु गरिएको यो अभ्यासले कारागारलाई सजाय भोग्ने स्थान मात्र नभई सुधार र पुनः स्थापनाको केन्द्र बनाउने लक्ष्य राखेको छ ।

कारागारभित्रको आर्थिक शोषण, धम्की र संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले कडाइ गरेपछि ध्यान तथा सकारात्मक सोचसम्बन्धी कार्यक्रम अघि बढाइएको हो । अहिले कारागारभित्र विपश्यना ध्यान शिविर सञ्चालनका लागि संरचनासमेत निर्माण भइरहेको छ । आगामी कात्तिक अन्तिम सातादेखि २४ जनाको समूहमा १० दिने ध्यान शिविर सञ्चालन गर्ने तयारी छ ।

प्रशासनले कारागारका सबै कैदीबन्दी र बाल सुधार गृहका बालविज्याइँकर्तालाई ध्यान, नैतिक शिक्षा र व्यवहार परिवर्तनका कार्यक्रममार्फत समाजमा पुनः स्थापित हुन सहयोग गर्ने लक्ष्य लिएको छ । मोरङ कारागारमा अहिले ‘ए’ ब्लकमा ५६७, ‘बी’ ब्लकमा ५३१ (पुरुष) र महिला ब्लकमा ११० कैदीबन्दी छन् ।

सोही ठाउँमा रहेको बाल सुधार गृहको ब्लकमा ६० जना र कञ्चनबारी स्थित बालसुधारगृहमा २ सयजना विज्याँईकर्ता छन् । उनीहरू सबै जना विपश्यना ध्यानका साधकहरूसँगै दैनिक साँझ बिहान विपश्यना ध्यान विधिको आना पाना ध्यानमा सहभागी भइरहेका छन् ।

मोरङ कारागारभित्र धमाधम विपश्यना शिविरका लागि २५ लाख खर्च गरेर अलग्गै संरचना तयार भइरहेको छ । शिविरको संरचना बनाउनका लागि विपश्यना ध्यान केन्द्रले आफ्नै साधकहरूबाट सहयोग संकलन गरेर व्यवस्थित संरचना निर्माण गराइरहेको छ ।