दसैँ मनाएर फर्किने यात्रु बढे, नाकामा चाप

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रु फर्किन थालेसँगै उपत्यका भित्रिने प्रमुख नाकामा सवारीसाधनको चाप बढ्न थालेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारी चाप बढेको हो ।

यात्रुको सङ्ख्या बढेसँगै आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको कार्यालयले जनाएको छ ।

उपत्यकाका प्रमुख नाकाबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

यस वर्ष घटस्थापनादेखि कात्तिक ३ गतेसम्म दसैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए ।