
विराटनगर । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। आइतबार (साउन १८) साँझ कोसी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो।
सोमबार (साउन १९) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर प्रतिसेकेन्ड १ लाख ७५ हजार ६८५ क्युसेक पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले जानकारी दिए। बहाव उच्च भएकाले हाल ५२ मूल ढोका र ४ नहरसहित जम्मा ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएको उनले बताए।
कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार, ब्यारेज भएर प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानी बग्दा खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था गरिएको छ। हाल उक्त संकेतस्वरूप रातो बत्ती बालिएको छ, जसले सर्वसाधारणलाई सतर्क रहन सूचना दिन्छ।
यसअघि २०६५ साल भदौ २ गते, कोसी नदीमा प्रतिसेकेन्ड १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा पूर्वी तटबन्ध भत्किएर ठूलो क्षति भएको थियो। त्यस घटनाबाट सिक्दै यसपटक प्रशासन सतर्क अवस्थामा रहेको जनाएको छ।
सप्तकोसी आसपासका बासिन्दालाई सजग रहन तथा सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ।