मोरङमा एचपीभी खोप अभियान : ८२७ केन्द्रबाट १२ हजार बढी बालिकालाई समेट्ने योजना

विराटनगर । मोरङ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको जिल्लाव्यापी अभियान माघ २५ गतेदेखि सुरु हुने भएको छ । उक्त अभियानमा १२ हजारभन्दा बढी बालिकालाई समेट्ने योजना छ ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरी ३ देखि ५ दिनसम्म खोप अभियान सञ्चालन गरिने छ । अभियानका लागि आवश्यक सबै तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ ।

त्यसका लागि जिल्लाभर ८ सय २७ वटा खोप केन्द्र तोकिएको छ । बुधबार विराटनगरमा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्यसचिव योगराज घिमिरेले एचपीभी खोप दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको बताए ।

‘यो खोप एउटा कार्यक्रम र अभियानमा मात्रै सीमित छैन । हजारौँ बालिकाको भविष्य सुरक्षित गर्ने रणनीतिक लगानी हो,’ उनले भने । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई समेत यसपटक अनिवार्य रूपमा समेट्ने लक्ष्य रहेको घिमिरेको भनाइ छ ।

एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलका अनुसार एचपीभी खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित छ । ‘यौन सक्रिय हुनुअघि खोप लगाउँदा यसको प्रभावकारिता धेरै उच्च हुन्छ । यसले भविष्यमा महिलालाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यन्तै न्यून बनाउँछ,’ उनले भने ।

खोपले प्रजनन क्षमता वा दीर्घकालीन स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने प्रचार निराधार भएको पनि पोखरेलको भनाइ छ । नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर रोगमध्ये एक हो । हरेक वर्ष १ हजारभन्दा बढी महिलाले यसकै कारण ज्यान गुमाउने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोरङमा मुखको क्यान्सर रहेको वा नरहेको पत्ता लगाउन ३० वर्षमाथिका महिलाका लागि नियमित भीआईए स्क्रिनिङ भइरहे पनि मूल जोखिम घटाउन किशोरी उमेरमै खोप आवश्यक रहेको घिमिरेको भनाइ छ । खोप अभियानका लागि सम्बन्धित केन्द्रमा खोप र खोपजन्य सामग्रीको ढुवानी बिहीबारबाट सुुरु गरिने जानकारी उनले दिए ।

समयमै खोपजन्य सामग्री सम्बन्धित केन्द्रमा पठाएर अभियानलाई सफल एवं प्रभावकारी बनाइने उनको भनाइ छ । त्यसका लागि कोल्ड चेन व्यवस्थापन, अभिलेख प्रणाली, तालिमप्राप्त जनशक्ति र आकस्मिक स्वास्थ्य व्यवस्थापनको तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष सहरी क्षेत्रमा सामाजिक सञ्जालमार्फत फैलिएको भ्रमका कारण खोप अभियान सञ्चालनमा निक्कै चुनौती देखिएको स्मरण गर्दै जनस्वास्थ्य अधिकृत पोखरेलले यसपटक प्रत्यक्ष संवाद र तथ्यमा आधारित सचेतनालाई प्राथमिकता दिइएको बताए । उनका अनुसार अनआवश्यक, मिथ्या एवं भ्रामक सूचनाका कारण गत वर्ष ग्रामीण क्षेत्रमा भन्दा कोशी प्रदेशको राजधानी रहेको विराटनगरमा खोप कार्यक्रम सञ्चालनमा चुनौती देखिएको थियो ।

खोप अभियानलाई अभियान सफल बनाउन स्थानीय तह, विद्यालय, शिक्षक, स्वास्थ्य स्वयंसेविका, अभिभावकलगायत सबै पक्षसँगको सहकार्य निर्णायक हुने सरोकारवालाहरूले बताए । स्वास्थ्य प्रमुख घिमिरेले विद्यालय बाहिर रहेका बालिकाको पहिचान एवं संख्या यकिनमा केही चुनौती भए पनि स्थानीय तह र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा उनीहरूलाई पनि खोपको पहुँचमा ल्याइने जानकारी दिए ।

आगामी वर्षदेखि एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने तयारीसमेत अघि बढेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार एचपीभी खोप किशोरी उमेरमै लगाउनु महिलाको स्वास्थ्य र जीवन जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो । मोरङमा सुरु हुन लागेको खोप अभियानले बालिकालाई मात्रै नभएर समाजमा वैज्ञानिक सोच र स्वास्थ्य सचेतनालाई समेत बलियो बनाउने अपेक्षा गरिएको स्वास्थ्य प्रमुख घिमिरेको भनाइ छ ।