कोशी प्रदेशमा ५० हजार बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइँदै

विराटनगर । कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु भएको छ । माघ २२ गतेदेखि सुरु भएको यो अभियान फागुन ७ गतेसम्म सञ्चालन हुने स्वास्थ्य निर्देशनालय  धनकुटाले जनाएको छ ।

यस अभियानमार्फत प्रदेशभरका ५० हजार ८६७ बालिकाहरूलाई खोप दिने लक्ष्य राखिएको छ । खोप अभियानमा विशेषगरी कक्षा ६ मा अध्ययनरत बालिकाहरू, विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिका र गत वर्ष खोप लगाउन छुटेका १० देखि १४ वर्षका किशोरीहरूलाई समेटिने छ । उच्च हिमाली भेगमा भने आगामी फागुन अन्तिममा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अभियानका लागि ४ हजार ८५४ खोप केन्द्रहरू निर्धारण गरिएको छ । जसमा ३ हजार ५८० सामुदायिक तथा निजी विद्यालय, ९६ वटा मदर्शा र १ हजार २७४ स्वास्थ्य संस्थाहरू रहेका छन् ।

स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले अभियान सफल पार्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए । मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले स्थानीय तहको सक्रिय भूमिकाले मात्र अभियान प्रभावकारी हुने उल्लेख गरे ।